स्वस्तिमा खड्कालाई खतरा

‘बुलबुल’मा गरेको अभिनयले स्वस्तिमा खड्कालाई रातारात चर्चित बनायो। सानातिना भूमिकामा अल्झिरहेकी उनको करिअरमा यो फिल्म टर्निङ प्वाइन्ट बन्यो। अहिले धेरैले उनलाई नम्बर वान अभिनेत्रीको दाबेदार मान्छन्। तर, स्वस्तिमाले यो उचाइ हासिल गर्न सफल फिल्मको संख्या निरन्तर थप्नुपर्ने हुन्छ।

तत्कालका लागि खतरा के छ भने स्वस्तिमालाई यो संख्या पाउन सजिलो छैन। ‘बुलबुल’ पछि रिलिज भएको ‘हजार जुनीसम्म’ले बक्स अफिसमा घुँडा टेकेपछि उनको स्पिडमा राम्रै ब्रेक लागेको छ। यसैबीच स्वस्तिमाको नयाँ फिल्म ‘घामड शेरे’ रिलिजको सँघारमा छ तर यसका पनि लक्षण ठीक छैनन्।

एक त फिल्मको ट्रेलर नै १० दिनअघि मात्र रिलिज भएको छ, त्यसमाथि सुस्त प्रचारप्रसार। अझ त्यसमाथि यो फिल्मको विषयवस्तु पनि पूर्ण व्यावसायिक देखिएको छैन। यस्तोमा कथंकाल यो फिल्मले पनि ‘हजार जुनीसम्म’कै बाटो समात्यो भने स्वस्तिमालाई राम्रै झट्का लाग्ने निश्चित छ।

प्रतिक्रिया दिनुहोस्