सन्दीप लामिछानेले ब्याटिङमा पनि खेल देखाई टोलीलाई जित दिलाउने अवसर गुमाए

बार्बाडोज : क्याराबिन प्रिमियर लिग(सीपीएल) अन्तर्गत सोमबार राति(नेपाली समय मंगलाबार बिहान)को खेलमा उत्कृष्ट बलिङ गरेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले ब्याटिङमा पनि खेल देखाई टोलीलाई जित दिलाउने अवसर गुमाएका छन् ।

सोमबार सन्दीप आवद्ध टोली बार्बाडोज ट्रिडेन्सले जमैका टेल्लवाससँग प्रतिस्पर्धा गरेको थियो । बार्बाडोजले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको जमैकाले २० ओभरमा सबै विकेट गुमाएर १२७ रन जोडेको थियो ।

१२८ रनको समान्य लक्ष्य पछ्याएको सन्दीपको टोली बार्बाडोजले ५ रनको हार व्यहोरेको छ । २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्रै बनाउन सक्यो। १०औं नम्बरमा ब्याटिङमा आएका सन्दीपले समालिएर ब्याटिङ गर्दै ८ बलमा एक चौकासहित ९ रन बनाए पनि टोलीलाई जितसम्म लानका लागि योगदान गर्न सकेनन् । अन्तिम दुई बलमा ६ रन चाहिएको बेलामा स्ट्राइकमा रहेका सन्दीपले दुवै बल डट खेले । ९औं विकेटका लागि रेमन रेइफर र सन्दीपले १४ बलमा ३२ रनको साझेदारी गरी टोलीलाई जित नजिक पुर्‍याएका थिए ।

२०औं ओभरमा जितका लागि १५ रन चाहिएको थियो । पहिलो बलमा सन्दीपले एक रन लिँदै रेइफरलाई स्ट्राइक दिएका थिए । रेइफरले दोस्रो बलमा छक्का र तेस्रो बलमा २ रन बनाउँदा जितका लागि ३ बलमा ६ रन चाहिएको थियो । चौथो बलमा रेइफर क्याचआउट भए । पाचौं बलको समाना गर्न सन्दीप स्ट्राइकमा थिए । उनले दुवै बल डट खेल्दा बार्बाडोजको अन्तिम आशा निराशामा परिणत भयो ।

बलिङमा भने सन्दीपले राम्रो प्रदर्शन गरे । ४ ओभरमा १७ रन खर्चेर उनले २ विकेट लिए। क्रिस गेल, रेसेल जस्ता आक्रामक खेलाडीको टोली जमैकाले ८ खेल खेल्दा २ जित निकालेको छ । बार्बाडोजले ६ खेलमा २ जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्