विश्वको पहिलो ‘फास्ट फुड’ समोसाको कथा

बीबीसी/जस्टिन रोलाट,समोसालाई तपाईंले सामान्य खाजा मात्र सोच्नुभएको छ भने तपाईंले यसको सम्पूर्ण कथा सुन्नु भएकै छैन । तपाईंले यसको कथा थाहा पाउनुभयो भने इतिहास निक्कै बृहत् पाउनुहुनेछ । समोसाको स्वादको विश्लेषण गर्दा राष्ट्र–राज्यको पहिचान सिमानाले निर्धारित हुन्छ भन्ने विचारमा धक्का लाग्नसक्छ । आज समोसाको परिचय भारतसँग गाँसिएको छ तर इतिहास त्योभन्दा निक्कै जटिल छ ।

समोसा टोक्दा तपाईंको दाँत समोसाको भित्री नरम भागसम्म पुग्दा त्यसको मिठास तपाईंको मुखभरी फैलिन्छ । तपाईंले जे चाखिरहनु भएको छ, एक प्रकारले त्यसले भारतको कथा भन्छ । अर्थात् समोसाको आजको स्वरूपलाई भारतमा भएका ठूल–ठूला बसाइँ सराइको शृङ्खलाहरूले आकार दिएको छ ।समोसाको इतिहासले भारतीय उपमहाद्वीपमा भएका विभिन्न संस्कृतिको अन्तक्र्रियाको कथा भन्छ ।

समोसाको वास्तविक उद्गम भारतबाट हजारौँ माइल टाढाको एक प्राचीन साम्राज्यमा भएको देखिन्छ । हामी मावन सभ्यताको सुरुमा इरानी प्रायद्वीपमा उदाएको साम्राज्यको कुरा गर्दैछौँ । पहिलो पटक समोसा बनाउन कहिले सुरु भयो भनेर निश्चित समय त थाहा छैन तर समोसा शब्द फारसी ‘सन्बोसाग’ शब्दबाट आएको भन्ने स्पष्ट भएको छ । लिखित साहित्यमा समोसाको पहिलो उल्लेख फारसी इतिहासकार अबल–फैजल बेहाकीले गरेका थिए । उनको ११औँ शताब्दीको कृतिमा समोसाबारे चर्चा पढ्न पाइन्छ ।

फैजलले यो सानो परिकार शक्तिशाली गजनवी साम्राज्यको दरबारमा खाजाको रूपमा पेस गरिने लेखेका छन् । पिठोको बाहिरी पत्रभित्र अन्य खाद्यान्न हालेर बनाइने यो खाजाबारे व्याख्या गर्दै फैजलले लेखेको छन्– योभित्र मासुको किमा, बदाम र अन्य सुकाइएका फल हालिन्छ र त्यसपछि कुरुम कुरुम नहोइन्जेल तेलमा तारिइन्छ । भारतमा विभिन्न समयमा बसाइँ सरेर आएका समुदायले समोसामा धेरै परिवर्तन गरे । समोसालाई २ हजार वर्षअघि आर्यहरूले मध्य–एसियाको बाटो हुँदै हाल अफगानिस्तानका पहाडी क्षेत्रबाट भारत ल्याएका थिए । त्यो समूह पहाडी क्षेत्र हुँदै भारतका महान नदीहरूले बनाएको उर्वर मैदानमा बास बस्यो ।

पछि मुम्लुक्स, तमरलेन र मुगलका ठूलो सङ्ख्यामा सेनाहरू यही मार्ग हँुदै भारत पसे । ती जातिले आजको भारत राष्ट्रलाई आकार दिन महत्त्वपूर्ण हुने साम्राज्य निर्माण गरे । यी ठूलठूला बसाइँ सराइको शृङ्खलाले भारतलाई आकार दिइरहँदा समोसामा पनि बदलिरहेको थियो । मूल उद्गमस्थलबाट ताजकिस्तान र उज्वेकिस्तान पुग्दा समोसा ‘किसानको खाजा’ बन्यो । भारतीय खानासम्बन्धमा विश्वका ठूला विज्ञ मानिने प्राध्यापक पुस्पेस पन्तले त्यसबेला समोसाको अवस्थाबारे भने, ‘दरबारको भोजनको एक हिस्सा अब गोठालाहरूले वस्तुभाउ चराउन जाँदा खाने उच्च क्यालोरीयुक्त खानामा बदलियो ।’ यसको त्रिकोणात्मक आकार अझै कायमै थियो । तर पहिलेजस्तो बदाम र सुकेका फल अब त्यसभित्र हाल्न छाडियो । यो मीठो परिकारमा अब खसी वा भेडाका मासु र प्याज हाल्न थालियो ।

त्यसको केही शताब्दीको अन्तरालमा समोसा हिन्दकुसको बर्फिलो भञ्ज्याङ हुँदै भारतीय उपमहाद्वीपमा प्रवेश गर्यो । तर यो रुटबाट भारत प्रवेश गर्ने समयमा समोसामा जे भयो त्यसले यसलाई ‘मिश्रित संस्कृतिको प्रभावयुक्त खाद्य’ बनाएको प्राध्यापक पन्तको विचार छ । किनकि बाटोमा जति पनि संस्कृतिको सम्पर्कमा पुग्यो तिनको केही न केही प्रभाव यसमा परेको देखिन्छ ।

‘समोसाको इतिहासको अध्ययन गर्दा यो कसरी भारत आउने बाटोका संस्कृतिबाट प्रभावित भयो र हामीसम्म आइपुग्यो भन्ने थाहा हुन्छ,’ पन्तले भने, ‘र यसले भारतले तिनलाई कसरी अँगाल्यो र त्यसलाई आफ्नो आवश्यकता र पर्यावरण अनुरूप विकास गर्ने क्रममा पूर्णतः बदल्यो, त्यसको कथा भन्छ।’

समोसालाई भारतले ग्रहण गरेर स्थानीय स्वाद दिएपछि यो विश्वको पहिलो फास्ट फुड बन्यो । भारतमा आएपछि यहाँको स्थानीय मसला जिरा, धनियाँ, अदुवा समोसामा हाल्न थालियो । त्यस्तै यसभित्र हालिने खाद्यान्न पनि बदलिएको छ । मुख्यत हिजोको मासुको स्थान तरकारीजन्य कुराले लियो । पछि अन्य खाद्य सामग्रीको पनि यो वाहक बन्यो । जब नयाँ संसार भनिने अमेरिकी महादेश पत्ता लाग्यो, त्यहाँको खाद्यान्नले समेत समोसालाई आकार दियो ।

आजकल अधिकांश समोसामा आलु हालिएको हुन्छ र हरियो खुर्सानीको बास्ना हुन्छ । यी दुवै अमेरिकी महादेशमा मूल भएका अन्य हुन् । १६औँ शताब्दीमा पोर्तुगिज व्यापारीले यसलाई विश्वसामु ल्याएका थिए । समोसाले त्यसपछि नयाँ रूपान्तरण सामना गर्यो । समोसाको विकास त्यतिमै रोकिएन । आज तपाईं भारतका अलग क्षेत्रमा फरक खालको समोसा पाउनुहुन्छ ।

कतै ठूलठूला समोसाले पूरै खानाको काम गर्छ । कतै ती पुनः दरबारिया परिकारका रूपमा उदाएका छन् । दिल्लीका विवाह पार्टीदेखि फेसनेवल पार्टीमा ती कक्टेलमा कनपेइका रूपमा पेस गरिन थालिएको छ । मोरोक्कोका यात्री इब्न बाटुटाले १४औँ शताब्दीमा दिल्लीका सम्राट् मोहम्मद बिन टुगलाकको दरबारका भव्य खानामा पेस गरिने भनिएको किमा र मटर मिसिएको समोसा अझै हैदरावादमा जीवितै छ ।

त्यस्तै पञ्जावको कुनै पनि समोसा पनिरबिना अधुरो हुन्छ, जब कि भारत अन्य स्थानमा यसलाई असामान्य मानिन्छ । आजकल नुनिलो बाहेकका समोसा पनि पाइन थालेको छ । कम्तीमा दिल्लीको एक रेस्टुराँले स्वदिलो चकलेटयुक्त समोसा पेस गर्छ । समोसाको पकाउने तरिकासमेत फरक छ । परम्परागत समोसा अझै कुरुम कुरुम हुने गरी तेलमा तारिन्छ तर तपाईंले कतै सेकाइएका समोसा पनि पाउन सक्नुहुन्छ । तेलमा तारेका समोसामा पाइने उच्च क्यालोरीबाट चिन्तितहरूका लागि सेकाइएका सामोसाले आकर्षित गर्न सक्छ ।

केही सेफहरूले बफ्याइएका समोसा पनि परीक्षण गरेका छन् । प्राध्यापक पन्त भने यसलाई गल्ती मान्छन् । पन्तका अनुसार तेलबिना सामोसाको मूल स्वाद सामान्यतया आउँदैन । निश्चित रूपमा समोसाको यात्रा भारतमा रोकिएन । भारतमा शताब्दीऔँसम्म परिष्कार भएर यो अन्य देशतिर फैलिन थालेको छ ।

भारतमा उपनिवेशकका रूपमा आएका ब्रिटिसहरूले पनि समोसालाई मन पराए । तिनले भारतीय उपमहाद्वीपको यो विशेष खोजलाई यही क्षेत्रका अन्य खोजहरूः स्याम्पु, बङ्ग्ला, बरन्डा र पाइजामासँगै आफ्ना साम्राज्यभरी विस्तार गरे । त्यस्तै, पछिल्लो केही शताब्दीमा विश्वभरि फैलिइरहेका बलियो भारतीय डायस्पोराले आफूसँगै समोसालाई लिएर गएँ । यसैले गर्दा कुनै समयमा प्राचीन फारसी साम्राज्यको स्वादिष्ट परिकार अहिले विश्वका हरेक देशमा खाइन्छ । त्यसैले समोसाले भारतको मूल सारः स्वीकार्यता, खोजमूलक, सहिष्णु र विविधतालाई बोकेको हुन्छ । र, तपाईंले ख्याल गर्नुभयो भने भारतीय उपमहाद्वीपका अन्य परिकारले पनि यस्तै रमाइलो कथा बोकेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्