यी हुन् पशुपतिका आरती गायक

गायक राजन खतिवडा धार्मिक परिवेशमा हुर्किए । सोही पृष्ठभूमिका कारण हुन सक्छ, उनी सात वर्षयता पशुपति आर्यघाटमा आरती गाइरहेका भेटिन्छन् । इलाममा जन्मेका राजनका बाबु गाउँमा पुरोहित थिए ।

राजनलाई पनि उनी धर्मकर्ममै लगाउन चाहन्थे । पक्षघातका कारण १३ वर्षअघि बाबुको मृत्यु भयो । उनकै सपना पूरा गर्न राजनले पनि आरती गायनतिर आफूलाई लगाए । वैदिक मन्त्रोच्चारणबाट सुरु हुने आरती कार्यक्रममा सरस्वती स्तोत्र, शिवजीको महाआरती, शिव ताण्डव, शिव पञ्चाक्षर, रुद्राष्टकलगायत भजन गाइन्छ । दैनिक साँझ एक घन्टा चल्ने आरतीमा राजनले नियमित गाउँदै आएका छन् ।

त्यसबाहेक ‘मखमली चोलीमा रेसमी सारी’, ‘आमा’ लगायत थुपै्र गीत कम्पोज गरेका छन्, उनले । इलामबाट पढ्न काठमाडौं आएपछि उनी गीत–संगीततर्फ आकर्षित भएका हुन् । स्नातकोत्तर सकेपछि औपचारिक रूपमै गीत–संगीतमा लागे । उनका दाइहरू दुर्गा र प्रेमसागरले भारतको वनारसबाट संगीतमै स्नातकोत्तर गरेका छन् । उनीहरूकै प्रेरणाले राजन आरती गायनमा लागेका हुन् । यसअघिका आरती गायकहरू विदेश पलायन भएपछि राजनले ठाउँ पाएका हुन् ।

पशुपतिनाथको सन्ध्या आरती हिन्दू धर्मावलम्बीबीच प्रसिद्ध छ । सन्ध्या आरतीका क्रममा भेला भएका भक्तजनमा देखिने खुसीबाट राजन दंग पर्छन् । सात वर्ष लामो घाटको यात्राले उनमा अरूको अनुहारमा खुसी खोज्ने बानी पारेको छ । आरती गायनबाहेक काठमाडौंका चारवटा बोर्डिङ स्कुलमा संगीत पढाउँछन्, उनी । यो खबर आजको नया पत्रिका दैनिकमा छ

प्रतिक्रिया दिनुहोस्