फिफा वर्ष खेलाडी आज घोषणा हुँदै

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने फिफा वर्ष खेलाडीको अवार्ड आज (सोमबार) घोषणा गरिँदैछ । इटालीको मिलानमा आयोजना हुने कार्यक्रममा वर्ष खेलाडी (महिला, पुरुष) र वर्ष प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।

फिफाको अन्तिम मनोनयनमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लिभरपुलका स्टार डिफेन्डर भिर्गिल भान डाइक रहेका छन् ।

पछिल्लो एक दशक विश्व फुटबलको केन्द्रमा रहेका मेस्सी र रोनाल्डोको एकात्मकता अघिल्लो वर्ष क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रीकले तोडेका थिए । मेस्सी र रोनाल्डोको एकात्मकता तोड्ने पहिलो खेलाडी बनेका मोड्रीक भने यो वर्ष फिफा वर्ष खेलाडीको अन्तिम मनोयनमा छैनन्।
यो वर्ष मेस्सी र रोनाल्डोलाई भान डाइकले पछि पार्ने चर्चा भइरकेको छ । यसलाई युइएफए वर्ष खेलाडीको अवार्ड हात पारेका डाइकले उनीहरुभन्दा यो वर्ष उत्कृष्ट खेलाडी आफु रहेको प्रमाणीत गरिसकेका छन् ।

डाइकले यसै वर्ष युईएफए वर्ष खेलाडी अवार्ड जितेका थिए । उनले मेस्सी र रोनाल्डोलाई नै पछि पारेर उक्त अवार्ड हात पारेका थिए ।

रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए । यस्तै युभेन्ट्सबाट इटालियन सिरी एको उपाधि जितेका थिए ।

मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए । उनले युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्